ख्रीष्टियान भएको नाताले हामी परमेश्वरको अस्तित्वसम्बन्धी ऐतिहासिक सूत्रलाई आत्मसात् गर्दछौँ । हामी यसो भन्छौँ, “परमेश्वर एक सत्त्व (सार) र तीन व्यक्तिमा हुनुहुन्छ ।” अर्को शब्दमा, परमेश्वर त्रिएक हुनुहुन्छ ।  उहाँ त्रिएकता हुनुहुन्छ । यसको मतलब परमेश्वरत्वमा तीन व्यक्तिहरू हुनुहुन्छ । ईश्वरशास्त्रमा यी तीन व्यक्तिहरूलाई भिन्नाभिन्नै विशिष्ट चरित्रहरूको रूपमा बुझिने गरिन्छ । पिता, पुत्र, र पवित्र आत्माबीचको भिन्नताहरू आधारभूत नभई वास्तविक भिन्नताहरू हुन् । अर्को शब्दमा, परमेश्वरत्वमा तीन वटा नभई एकमात्र सत्त्व छ । मानवजातिको सन्दर्भमा, हाम्रो अनुभवअनुसार हामीले भेट्ने हरेक व्यक्ति भिन्नाभिन्नै व्यक्ति हुन्छन् । यहाँ एक व्यक्ति भनेको एक अस्तित्व हो । तर परमेश्वरत्वमा, त्यहाँ एक अस्तित्व अनि तीन व्यक्तिहरू हुनुहुन्छ । हामीले यो भिन्नतालाई कायम राख्नुपर्छ, नत्रता हामी बहुईश्वरवादमा फस्छौँ, जसले परमेश्वरत्वको तीन व्यक्तिहरूलाई तीन अस्तित्वहरूको रूपमा देख्छन्, अर्थात् तीन ईश्वरहरूको रूपमा ।
    हामीमध्ये कोही पनि त्रिएकताको बुझाइको गहिराइमा डुबुल्की मार्न सक्दैनौँ, तर यसलाई उत्तम तरिकाले बुझ्न साना कदम चाल्न सक्छौँ । यसको लागि अस्तित्व  र सहअस्तित्व जस्ता शब्दहरूले हामीलाई सहायता पुर्‍याउन सक्छन् ।
अस्तित्व र सहअस्तित्व
सेमिनारीको विद्यार्थीहरूसँग ठट्टेउली गर्दै म यसरी प्रश्न गर्ने गर्थेँ, “के परमेश्वर अस्तित्वमा हुनुहुन्छ ?” उनीहरूले परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी उत्तर दिन्थे । त्यसपछि म भन्थेँ, “अहँ, परमेश्वर अस्तित्वमा हुनुहुन्न ।” यो प्रोफेसरले त आफ्नो  विश्वास त्याग पो गर्‍यो  कि के हो भनेर उब्जिएको शङ्का सहित देखिएको उनीहरूको अचम्मित अनुहार हेर्न साह्रै रमाइलो लाग्थ्यो । तर उनीहरूलाई धेरैबेर अन्योलमा राख्न नचाही म यो बयान गरिदिन्थेँ, कि म परमेश्वर अस्तित्वमा हुनुहुन्न भन्ने एक दर्शनशास्त्रीय तर्कको सानो खेल खेलिरहेको थिएँ ।
    अस्तित्व शब्द ल्याटिन शब्दको एक्जिस्टरे बाट आएको हो, जसको अर्थ “केही कुराबाट प्रकट हुनु वा उत्तमताले भरिनु” भन्ने हुन्छ । त्यसैले अस्तित्व को शाब्दिक अर्थ “प्रकट हुनु वा उत्तमता देखापर्नु” भन्ने हुन्छ । तर तपाईं अस्तित्वमा हुनुहुन्छ भन्ने कुराको अर्थ यो होइन, कि तपाईंले हरेक कुरा उत्तम तरिकाले गर्नुहुन्छ । तर यो प्रश्न चाहिँ जायज नै छ, कि अस्तित्वमा आएका जीव के कुरामा उत्तम छ त ?
    अस्तित्वको कौतुहलताका जराहरू प्राचीन दर्शनशास्त्रमा पाइन्छन् । दर्शनशास्त्रीहरूले अस्तित्वमा हुनुको उद्देश्यमाथि प्रश्न गर्ने गर्दथे । आज हामी पनि यही प्रश्नमा गाँजिएका छौँ । जब हामी परमेश्वर र हामीबीच भिन्नता केलाउँछौँ, तब हामीले उहाँलाई परम अस्तित्व भन्छौँ र आफैँलाई चाहिँ मानव अस्तित्व । तर यसरी भिन्नता केलाउनु अलि गलत हुन्छ । दुवै ठाउँमा अस्तित्व भन्ने शब्द प्रयोग गरिएको छ । त्यसैले यहाँ परमेश्वर र हामीबीच भिन्नता देखाउन हामीले विशेषणीय गुणहरूलाई नियाल्छौँ । उहाँ सर्वोच्च हुनुहुन्छ र हामी चाहिँ मानव हौँ । वास्तवमा, परमेश्वर र हामीबीचको भिन्नता भनेको अस्तित्व नै हो । परमेश्वर विशुद्ध अस्तित्व हुनुहुन्छ, एक अस्तित्व जोसँग आफ्नै  जीवन आफैँभित्र अनन्तदेखि नै छ । मानव अस्तित्व एक सृष्टि हो, एउटा प्राणी आफ्नो  अस्तित्वको लागि पलपलमा परम अस्तित्वको शक्तिमा निर्भर हुन्छ । परमेश्वरको अस्तित्व कुनैपनि कुरामा निर्भर छैन वा कुनैपनि कुराबाट आउँदैन । उहाँमा आफैँभित्र आफ्नै  हुने शक्ति छ ।
    जब प्राचीन दर्शनशास्त्रीहरूले अस्तित्वको बारेमा कुरा गर्दैथिए, तब उनीहरूले ल्याटिन शब्दको अर्थ “प्रकट हुनु वा उत्तमताले भरिनु” हो भनी अस्तित्वको उत्तमतालाई बयान गरिरहेका थिए । यसो भन्नुको अर्थ के हुन्छ ? यसको लागि एकअर्कामा भेट नहुने दुईटा वृत्तहरूको कल्पना गर्नुहोस् । पहिलो वृत्त “अस्तित्व” र दोस्रो वृत्त “अस्तित्वविहीन” वा शून्यता हो । अब एउटा लौरो जस्तो आकृतिको कल्पना गर्नुहोस्, जसको एउटा हातले “अस्तित्व” नामक वृत्तलाई छोएको छ अनि अर्को हातले “अस्तित्वविहीन” नामक वृत्तलाई छोएको छ । यो मानवजातिको चित्रण हो । हामी अस्तित्वमा सहभागी हुन्छौँ, तर हामी विनाश हुनबाट एक पाइला मात्र बाँकी अवस्थामा छौँ । अस्तित्वमा रहिरहनको लागि हामीले “अस्तित्व” नामक वृत्तसँग सम्बन्ध गाँसी रहनुपर्छ । यो वृत्तले त्यही अस्तित्वलाई जनाउँछ, जसको बारेमा प्रेरित पावलले भनेका छन्, “हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्तित्व छ (प्रे १७ः२८)”– उहाँ परमेश्वर हुनुहुन्छ । हामी त्यस अस्तित्वमा सहभागी भए तापनि र त्यस अस्तित्वद्वारा भरपोषण पाए तापनि हामी अस्तित्वविहीन हुनलाई एक पाइला मात्र बाँकी छ ।
    दर्शनशास्त्रीहरूले “केही कुराबाट प्रकट हुने” कुराको बारेमा छलफल गर्दा आफ्नो  मस्तिष्कमा हामीले कल्पना गरेको लौरो जस्तो आकृतिको चित्रलाई नै राखेका थिए । हामीले मानवजाति “हुने वा बन्ने” अवस्थामा छन् भन्न सक्छौँ । हामी परिवर्तन हुन्छौँ । हामी हिजोभन्दा र भोलि हुने व्यक्तिभन्दा आज बेग्लै छौँ, भलै कि यो समयावधिमा हामी २४ घण्टा मात्रै बूढो भएको हुन्छौँ । परिर्वनत मानवताको पक्ष हो, जसले हाम्रो अस्तित्वलाई परिभाषित गर्दछ । परिर्वतन, पुस्ता, नास, वृद्धि, र बुढौलिपन हाम्रो जीवनका गुणहरू हुन् । तर परमेश्वर अनन्त रूपमा नै एकनास हुनुहुन्छ । उहाँ हिजो, आज, र सदासर्वदा एकै हुनुहुन्छ ।
    छोटकरीमा, जब दर्शनशास्त्रीहरूले अस्तित्वको बारेमा बोलेका थिए, तिनीहरूले सृष्टि हुनुको अर्थ के हो भन्ने कुराको परिभाषा दिँदै थिए । त्यसैले जब म सेमिनारीका विद्यार्थीहरूसँग ठट्टेउली गर्दै परमेश्वर अस्तित्वमा हुनुहुन्न भन्दै थिएँ, तब मैले परमेश्वर हुनुहुन्न भनी भनिरहेको थिइनँ । मेरो भन्नुको तात्पर्य यो थियो, कि परमेश्वर सृजित थोक हुनुहुन्न । उहाँ समय र स्थानमा सीमित हुनुहुन्न । परिर्वतन, जन्म र मृत्युले उहाँलाई छुदैँन । परमेश्वर सधैँ र अनन्तदेखि परमेश्वर नै हुनुहुन्छ । उहाँ “म हुँ” हुनुहुन्छ । 
    जब हामीले परमेश्वरत्वको व्यक्तिहरूको बारेमा कुरा गर्छौँ, तब हामीले अस्तित्व शब्द नभई सहअस्तित्व प्रयोग गर्छौँ । यी शब्दहरूमा के भिन्नता छन् ? सामान्यतया हामी गरिबीमा बाँचिरहेको व्यक्तिको बारेमा कुरा गर्दा हाम्रो सामान्य बोलीचालीमा सहअस्तित्व शब्द प्रयोग गर्छौ । हामी न्यूनतम आयको बारेमा कुरा गर्छौ, जुन थोरै ज्याला हो, वा निर्वाह आहार, जसले आधारभूत पोषक तत्त्वहरू मात्र प्रदान गर्दछ । सहअस्तित्वको अङ्ग्रेजी शब्दको उपसर्ग कगद  ले “अधीनता” लाई जनाउँछ । त्यसैले सहअस्तित्व भनेको अरू कसैको अधीनमा हुने अस्तित्व हो । यसले त्रिएकताको अवधारणालाई चित्रण गर्दछ । परमेश्वर एक अस्तित्वभित्र तीन सहअस्तित्वहरू हुनुहुन्छ, तीन भिन्नाभिन्नै व्यक्तिहरू । उहाँहरू परमेश्वरको अस्तित्वमा हुनुभएको अस्तित्वहरू हुनुहुन्छ । 
आत्माको व्यक्तिगत प्रवृत्ति
पवित्र आत्मा व्यक्ति हुनुहुन्छ भन्ने तथ्यलाई धर्मशास्त्रमा अनेकौँ तरिकाबाट हेरिएको छ । यसको एउटा प्रमुख प्रमाण भनेको बाइबलले बारम्बार र निरन्तर पवित्र आत्मालाई व्यक्तिगत सर्वनामद्वारा गरिएको सम्बोधन हो । पवित्र आत्मालाई “उहाँ,” “उहाँलाई,” अनि यस्तै अरू शब्दहरूद्वारा सम्बोधन गरिएको छ, तर कहीँकतै पनि “त्यो” भनी सम्बोधन गरिएको छैन । त्यसैगरी, उहाँले गर्नुहुने कामहरूसँग हामी व्यक्तिगत रूपमा सम्बन्धित हुन सक्छौँ । उहाँले सिकाउनुहुन्छ, प्रेरणा दिनुहुन्छ, मार्गनिर्देशन गर्नुहुन्छ, डोर्‍याउनुहुन्छ । उहाँले बिलौना गर्नुहुन्छ, हामीलाई पापको दोषी ठहराउनुहुन्छ र यस्तै धेरै कामहरू गर्नुहुन्छ । अवैयक्तिक थोकले यस तरिकाको काम गर्न सक्दैन । केवल व्यक्तिले मात्रै यस्तो काम गर्नसक्छ ।
    तर पवित्र आत्मालाई धर्मशास्त्रमा एक व्यक्तिको रूपमा मात्रै नभई पूर्ण ईश्वरको रूपमा पनि हेरिएको छ । यो कुरा हामी प्रेरितको पुस्तकमा भएको रोचक कथाबाट हेर्नेछौँः
तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी सफीराले एक टुक्रा जमिन बेचे, र त्यसको मोलबाट तिनकी पत्नीकै जानकारीमा केही हिस्सा आफुसँग राखे, र केही हिस्सा ल्याएर प्रेरितहरूका चरणमा राखिदिए । तर पत्रुसले भने, “ए हननिया, पवित्र आत्मासँग झुट  बोल्ने र जमिनको बिक्रीको मोलबाट केही हिस्सा आफूसँग राख्ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो ? त्यो बिक्री नभइञ्जेल के त्यो तिम्रो आफ्नै  थिएन ? र त्यो बिक्री भएपछि पनि त्यो तिम्रै अधिकारमा थिएन र ? यस्तो काम गर्ने विचार तिम्रो ह्दयमा कसरी आयो ? तिमीले मानिसहरूलाई त होइन, तर परमेश्वरलाई नै ढाँटेका छौ ।” – प्रेरित ५ः१–४
    हननिया र सफीराको पाप उनीहरूले आफूले  दिएकोभन्दा ज्यादा दान चर्चलाई दियौँ भनी लगाएको धाक थियो । उनीहरूले परमेश्वरलाई अपर्ण गरेको उपहारको बारेमा झुट बोले । मेरो विचारमा प्रेरित पत्रुसले उनीहरूले दिएको दानमा भन्दा बढी उनीहरूको आत्माको अवस्थाको बारेमा ज्यादा चासो राखेका थिए । हननिया र सफीरालाई हप्काउँदा पत्रुसले प्रयोग गरेको शब्दहरूलाई विचार गर्नुहोस् । उनले यसरी सुरु गरे, “ए हननिया, पवित्र आत्मासँग झुट  बोल्ने र जमिनको बिक्रीको मोलबाट केही हिस्सा आफूसँग  राख्ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो ?” अनि यसरी आफ्नो  भनाइ पूरा गर्दछन्, “तिमीले मानिसहरूलाई त होइन, तर परमेश्वरलाई नै ढाँटेका छौ ।” निष्कर्षमा, हननियाले पवित्र आत्मा विरुद्ध बोलेको झुट वास्तवमा परमेश्वर विरुद्ध थियो । यहाँबाट यो प्रष्ट हुन्छ, कि पवित्र आत्मा परमेश्वर हुनुहुन्छ ।
परमेश्वरका गुणहरू र कामहरू
    नयाँ करारले पवित्र आत्मालाई अक्सर ती गुणहरू सहित बयान गर्दछ, जुन स्पष्टरूपमा ईश्वरीय हुन् । उदाहरणको लागि, पवित्र आत्मा अनन्त (हिब्रू ९ः१४) र सर्वज्ञानी (१ कोर २ः१०–११) हुनुहुन्छ । यी दुवै परमेश्वरका गुणहरू हुन् । यी गुणहरू सञ्चार नहुने परमेश्वरका गुणहरू हुन्, जुन मानिसमा पाइँदैन ।
    हामीले धर्मशास्त्रमा यो देख्छौँ, कि आत्माले त्रिएकताको सृष्टि र उद्धारको कामहरूमा भाग लिनुहुन्छ । उत्पत्ति १ ले यो देखाउँछ, कि पिताले संसारलाई अस्तित्वमा आउन आज्ञा गर्नुभयो । नयाँ करारले हामीलाई यो बताउँछ, कि परमेश्वरले लोगोस द्वारा ब्रह्माण्डलाई अस्तित्वमा ल्याउनुभयो । जो त्रिएकताको दोस्रो व्यक्ति, हाम्रो प्रभु येशू ख्रीष्ट हुनुहुन्छः “सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँबिना बनिएन (यूह १ः३) ।” तर सृष्टिमा आत्मा पनि सहभागी हुनुहुन्थ्योः “परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो (उत १ः२) ।” आत्माको जोसिलो कामद्वारा जीवन निस्कि आएको हो ।
    त्रिएकताको महत्वपूर्ण काम भनेको उद्धार पनि हो । पिताले पुत्रलाई संसारमा पठाउनुभयो (१ यूह ४ः१४) । आज्ञाकारिताको सिद्ध जीवन जिएर, अनि पूर्ण सन्तुष्टिको लागि मरेर (फिली ३ः९स १ कोर १५ः३) पुत्रले हाम्रो मुक्तिको लागि चाहिने सबै आवश्यकता पूरा गर्नुभयो । तर हामीमा व्यक्तिगत तवरमा लागू नगरिएसम्म यी लाभहरूले केही अर्थ राख्दैनन् । त्यसैकारण, पिता र पुत्रले पवित्र आत्मालाई हामीमा उद्धार लागू गराउनको निम्ति संसारमा पठाउनुभयो (यूह १५ः२६स गला ४ः६) । नयाँ करारमा पवित्र आत्माको प्रमुख काम भनेको ख्रीष्टले गर्नुभएको कामलाई विश्वासीहरू माझमा लागु गर्नु हो ।
    के तपाईंलाई पवित्र आत्मा को हुनुहुन्छ भनी थाहा छ ? के तपाईंले पवित्र आत्मालाई व्यक्तिगत सम्बन्धको तवरबाट बुझ्नुभएको छ ? वा तपाईंको निम्ति आत्मा अस्पष्ट, धमिलो, अमूर्त अवधारणा, वा भ्रम अनि आकारविहीन शक्ति मात्र हुनुहन्छ ? शक्ति आफैँमा एक अवैयक्तिक वस्तु हो । तर पवित्र आत्मा कुनै अमूर्त शक्ति हुनुहुन्न । उहाँ एक व्यक्ति हुनुहुन्छ, जसले परमेश्वरका मानिसहरूलाई ख्रीष्टियान जीवनको लागि सशक्तीकरण गर्नुहुन्छ । आउँदो पाठहरूमा विस्तृत रूपमा उहाँले आफ्नो  यस विशेष कामलाई कसरी पूरा गर्नुहुन्छ भन्ने विषयमा हेर्नेछौँ ।

क्रूसमा केन्द्रित महिमा १ कोरिन्थी १५ मा रहेको सुसमाचारको मूल्य र इनाम