a silhouette of a person holding a cross


सोही समय, परमेश्वरले यस संसारलाई उहाँको महिमाको निम्ति सृष्टि गर्नुभयो भनेर सामान्य रूपमा उत्तर दिनु भनेको, अति साधारण अभिव्यक्ति दिनजस्तै हो । हामीले हाम्रो उत्तरलाई यतिमै टुङ्ग्याउनु हुँदैन । किनकि यो त्रिएकताको व्यक्तिहरू र परमेश्वरले नेतृत्व गरिरहनुभएको इतिहासदेखि धेरै अलग छ । प्रश्न केवल यो मात्र हैन कि, “परमेश्वरले किन संसारको सृष्टि गर्नुभयो ?” तर प्रश्न यो पनि हो कि, उहाँले किन यो संसारलाई सृष्टि गर्नुभयो ?– किन यी हजारौँ वर्षको मानव इतिहासको गौरवमय सुरुवात, र पापमा डरलाग्दो पतन, र इस्राएलको इतिहास, र संसारमा परमेश्वरको पुत्रको आगमन, प्रायश्चितको मृत्यु, बिजयी पुनरुत्थान, चर्चको स्थापना अनि विश्वव्यापी मिसनको इतिहास ? किन यो संसार ? किन यो इतिहास ?
    यसको छोटो जवाफ हुन्छ, किनभने परमेश्वरको अनुग्रह सर्वोच्च रूपमा येशूको बचाउने मृत्युमा प्रदर्शन र प्रकट भएको छ । अझ गम्भीर रूपमा भन्नुपर्दा, यो संसार र उजागर हुँदै आएको इतिहासलाई परमेश्वरले नै सृष्टि गर्नुभयो र यसलाई निर्देशन गर्नुभयो र सम्हाल्नुभयो ताकी परमेश्वरको अनुग्रह पापीहरूको खातिर ख्रीष्टको मृत्युद्वारा सर्वोच्च रूपमा प्रदर्शित होस् र मुक्ति पाएकाहरूले ख्रीष्टलाई उचाल्ने आनन्दमा उहाँको अनुग्रह अनन्तसम्म महिमित बनोस् ।
    यसको मतलब यो हो कि परमेश्वर केन्द्रित हुनु भनेको निर्दिष्ट रूपमा ख्रीष्टलाई उचाल्नु र सुसमाचारद्वारा अभिप्रेरित हुनु हो । परमेश्वरको महिमा, अनुग्रहको महिमा र ख्रीष्टको महिमा बीच तोड्न नसकिने अनन्त सम्बन्ध छ । अवश्य पनि, सृष्टिमा भएका सबै कुरा परमेश्वरको अनुग्रहको महिमाको निम्ति अस्तित्वमा छ जुन ख्रीष्टको बचाउने मृत्युद्वारा सर्वोच्च रूपमा प्रकट र प्रदर्शन भएको छ । 
परमेश्वरको महिमा कसरी ख्रीष्टको क्रूससँग सम्बन्धित छ भनेर हेरौँ । हामी यसलाई पाँचवटा तहमा हेर्नेछौँ ।
परमेश्वरको महिमाको सर्वोच्च प्रदर्शन भनेकै उहाँको अनुग्रहको प्रदर्शन हो । 
जसको परिणाम महिमा हो । 

परमेश्वरले “उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्” (एफिसी १ः५–६) । अर्को शब्दमा, परमेश्वरको अनुग्रह को महिमा, परमेश्वरको महिमाको उच्चतम् र अन्तिम विन्दु हो— जसलाई पावलले यसो भनेका छन् “योचाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो” (एफिसी २ः७) । र पूर्वनियूक्तिको लक्ष्य यही हो कि हामी यो अनुग्रहको महिमाको निम्ति सधैँभरि बाँचौँ ।

यो परमेश्वरको महिमाको अन्तिम विन्दु हो । अन्य सबै कुराहरू पनि, उहाँको क्रोध पनि यही अन्तिम उद्देश्यको लागि हो । पावलले भनेका छन्, “यदि परमेश्वरले आफ्नो क्रोध प्रकट गर्न र आफ्नो शक्ति प्रदर्शन गर्नलाई विनाशको लागि तयार पारिएको क्रोधका पात्रहरूलाई अत्यन्त धैर्यसाथ सहनुभएको छ भने, के भयो त ? यदि महिमाको निम्ति अघिबाटै तयार पार्नुभएको उहाँका कृपा पात्रहरूलाई आफ्नो महिमाको सम्पत्ति प्रकट गर्नलाई उहाँले यसो गर्नुभयो ” (रोमी ९ः२२–२३) । क्रोध नै अन्तिम हैन, तर उहाँको कृपा पात्रहरूमाथि उहाँले राख्नुभएको अनुग्रहको महिमा नै अन्तिम हो ।
परमेश्वरले उहाँको महिमामय अनुग्रहको प्रशंसाको योजना सृष्टि अघिनै 
बनाउनुभएको थियो ।

उहाँको महिमामय अनुग्रहको प्रशंसाको लागि परमेश्वरले संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो“ (एफिसी १ः४, ६) । अनुग्रह मानिसको पतनको प्रतिक्रिया स्वरूप हुनआएको कुनै पछिल्लो विचार थिएन । यो त योजना थियो, किनभने अनुग्रह परमेश्वरको महिमाको पहाडको शिखर हो । उहाँले आफ्नो महिमाको लागि संसार सृष्टि गर्नुभयो । उहाँले आफ्नो अनुग्रहको महिमाको लागि संसारको योजना बनाउनुभयो ।
परमेश्वरको योजना थियो कि उहाँको अनुग्रहको महिमाको प्रशंसा येशू मार्फत हुनेछ । 
“उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्” (एफिसी १ः५–६) । यस महिमामय अनुग्रहको प्रशंसाको पूर्वनियुक्ति “येशू ख्रीष्टद्वारा भयो ।” त्रिएकत्वको अनन्त सङ्गतिमा, पिता र पुत्रले परमेश्वरको अनुग्रह पुत्रको बचाउने कार्यबाट सर्वोच्च रूपमा प्रकट हुनेछ भनी योजना बनाउनुभयो ।
    फेरि पनि पावल भन्छन्, परमेश्वरले “उहाँले हामीलाई उद्धार गर्नुभयो, र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो । हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्ट येशूमा युगयुग अघिदेखि हामीलाई दिनुभएको थियो” (२ तिमोथी १ः९) । त्यसैकारण, समयको सुरुवात हुनु अघिनै परमेश्वरको योजना यही थियो कि ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहको महिमा प्रकट होस् ।

अनन्तदेखि परमेश्वरको योजना यही थियो कि ख्रीष्टको बचाउने कार्यद्वारा उहाँको अनुग्रहको महिमा उच्चतम् विन्दुमा पुगोस् । 
संसारको सृष्टि हुनुभन्दा अघि नै जीवनको पुस्तकमा उद्धार पाएकाहरूका नाममा छाप लगाइएको कुरा हामी देख्नसक्छौ । पापको अस्तित्व हुनुभन्दा अघिनै उहाँको पुत्र पापीहरूको निम्ति मारिनेछ भनी परमेश्वरले योजना बनाउनुभएको थियो । हामी यो कुरा जान्दछौँ, किनकि सृष्टिभन्दा अघि नै जीवनको पुस्तकमा नाउँ लेखिएको थियो । प्रकाश १३ः८ ले भन्छ “र पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएको छैन” । 
    सृष्टिभन्दा अघि पुस्तकको नाउँ “मारिएको थुमाको जीवनको पुस्तक” थियो । परमेश्वरको योजना महिमा थियो । योजना अनुग्रह थियो, योजना ख्रीष्ट र उहाँको मृत्यु थियो । र हामीजस्तो पापीहरूका लागि त्यो मृत्यु सुसमाचारको मुटु हो, यसकारण पावलले यसलाई “ख्रीष्टको महिमाको सुसमाचार” (२ कोरिन्थी ४ः४) भनेका छन् । 
त्यसकारण, उहाँको पुत्रको  क्रूसीकरणमा परमेश्वरको महिमामय अनुग्रहको प्रशंसा नै यस संसारको सृष्टि, सृजना, मार्गदर्शन र यसलाई सम्हाल्नुको मुख्य उद्देश्य हो । 
प्रकाशको पुस्तकले देखाउँछ कि अनन्तको लागि हामी “थुमाको गीत गाउनेछौँ” (प्रकाश १५ः३) । हामी जोशका साथ प्रशंसा गर्दै भन्नेछौँ, “तपाईं यो चर्मपत्रको मुठो लिने र त्यसका मोहोरहरू तोड्ने योग्यका हुनुहुन्छ, तपाईं मारिनुभयो र आफ्नो रगतद्वारा तपाईंले परमेश्वरको निम्ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो” (प्रकाश ५ः९) । हजारौँ कुराहरूको निम्ति हामी मुक्तिदाताको प्रशंसा गर्नेछौँ, तर हामीले भन्ने सबैभन्दा महिमित कुरा यही हुनेछ— तपाई मारिनुभयो र धेरैको मोल तिर्नुभयो । 
    त्यसैले, अन्त्यमा हामी यही प्रश्न गर्छौँ, “परमेश्वरले किन संसारको सृष्टि गर्नुभयो ?” र हामी पवित्र धर्मशास्त्रबाट जवाफ दिन्छौँ— परमेश्वरले आफ्नो महिमाको निम्ति संसारको सृष्टि गर्नुभयो । आवश्यक परेको कारण उहाँले संसारको सृष्टि गर्नुभएको हैन । अभाव पूर्ति गर्नका लागि उहाँले संसारको सृष्टि गर्नुभएको हैन । उहाँ एक्लो हुनुहुन्थ्यो । पिता, पुत्र र पवित्र आत्मा, त्रिएकत्वको सङ्गतिमा उहाँ पूर्णरूपमा खुसी हुनुहुन्थ्यो । आफ्नो महिमा प्रदर्शन गर्नको लागि उहाँले यस संसारलाई सृष्टि गर्नुभयो ताकि उहाँको मानिसहरूले उहाँलाई जानून्, प्रेम गरून् र उहाँलाई देखाऊन् ।
    र उहाँले किन यस्तो संसारको सृष्टि गर्नुभयो जुन पापमा फस्यो ? त्यो संसार जसले उहाँको महिमालाई मूर्तिसँग साट्छ । यस्तो संसारलाई किन उहाँले सृष्टि गर्नुभयो, मार्गनिर्देशन गर्नुभयो र सम्हाल्नु भयो ? हामी यही जवाफ दिन्छौँ— येशूको मृत्युमा परमेश्वरको महिमामय अनुग्रहको सर्वोच्च प्रशंसाको लागि ।

ख्रीष्टले वास्तवमा के हासिल गर्नुभयो ? तेस्रो व्यक्ति