Add a heading (4)


१ कोरिन्थी १५ मा ६ वटा महत्वपूर्ण तत्त्वहरू छन्, तीमध्ये ५ वटा तत्त्वहरू स्पष्ट छन् र एउटाचाँहि अस्पष्ट छ ।
“भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ , र जसमा तिमीहरू स्थिर रहन्छौ । यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ । किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो । उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो” (१ कोरिन्थी १५ः१–४) ।
यहाँनेर हामी सुसमाचारको ६ वटा तत्त्वहरूलाई देख्छौँ । यदि यी ६ वटामध्ये कुनै पनि छुटेको भए त्यहाँ सुसमाचार नै हुने थिएन।
सुसमाचार ईश्वरीय योजना हो 
“पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो” (पद ३ ख) । उहाँ मर्नुभन्दा सयौँ वर्षअघि लेखिएको पवित्र धर्म शास्त्रअनुसार उहाँ मर्नुभयो । यसको मतलब सुसमाचारको घटना घट्नुभन्दा अघि नै परमेश्वरले सुसमाचारको योजना बनाउनुभएको थियो ।

सुसमाचार ऐतिहासिक घटना हो 
“ख्रीष्ट मर्नुभयो” (पद ३ ख) । सुसमाचार दन्त्य कथा होइन । यो केवल विचार र भावना हैन । यो घटना हो र यो घटनाबिना त्यहाँ कुनै सुसमाचार छैन ।
सुसमाचार त्यस घटनाद्वारा हासिल गरिएको ईश्वरीय उपलब्धि हो
जसलाई हामी अस्तित्वमा आउनुभन्दा अघि नै येशूको मृत्युमा परमेश्वरले पूरा गर्नुभयो । “ख्रीष्ट हाम्रो पापको निम्ति मर्नुभयो” (पद ३ ख) । “हाम्रो पापको खातिर” भन्नुको अर्थ यो मृत्यु योजनाबद्ध रूपमा भएको थियो । यसले केही हासिल गर्ने लक्ष्य लिएको थियो । यसले हाम्रो पापको ऋणलाई रद्द गर्ने कार्य पूरा गर्यौ (कलस्सी २ः१४, परमेश्वरको क्रोध (रोमी ५ः९ व्यवस्थाको श्राप (गलाती ३ः१३) र पापको दण्ड (रोमी ८ः३) हामीबाट हटाइयो, र हाम्रो निम्ति अनन्त जीवन सुनिश्चित गरियो (यूहन्ना ३ः१६) । ख्रीष्टको कार्यद्वारा प्राप्त भएको उपलब्धि यही हो, जुन कसैमाथि लागू गर्नुअघि नै पूरा गरिएको छ ।

सुसमाचार, विश्वासको खातिर ख्रीष्ट दिने सित्तैको प्रस्ताव हो
“भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ । यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ ” (१ कोरिन्थी १५ः१–२) । परमेश्वरले ख्रीष्टमा हासिल गर्नुभएको असल समाचार हाम्रो योग्यता र कर्म वा कार्यदक्षताको आधारमा नभएर ख्रीष्टमाथिको विश्वासद्वारा पाइन्छ । परमेश्वरले गर्नुभएको कुरालाई ग्रहण गर्नेहरूलाई उहाँले सित्तैमा त्यो दिनुभएको छ, र यसलाई विश्वासद्वारा ग्रहण गरिन्छ । विश्वासको खातिर ख्रीष्ट दिने सित्तैको प्रस्तावबिना त्यहाँ कुनै सुसमाचार नै हुने थिएन ।
सुसमाचार प्रत्येक विश्वासीहरूका लागि ख्रीष्टको मृत्युद्वारा परमेश्वरले उद्देश्यका साथ हासिल गर्नुभएको कुराको व्यावहारिक लागूकरण हो
त्यसैले जब हामी विश्वास गर्छौँ तब हाम्रा पापहरूबाट क्षमा पाउँछौँ (प्रेरित १०ः४३, हामी धर्मी ठहर्नेछौँ (रोमी ५ः१, र हामीले अनन्त जीवन प्राप्त गर्नेछौँ (यूहन्ना ३ः१६), साथै, अरू लाभहरू पनि प्राप्त गर्नेछौँ । (ती लाभहरूलाई सूचीबद्ध गर्नका लागि मैले एउटा पुस्तक लेखेको छु, येशू मर्न आउनुभएको ५० कारणहरू ) सुसमाचार हाम्रो लागि शक्तिशाली र व्यक्तिगत लागूकरण हो जुन परमेश्वरले क्रूसमा  हाम्रो निम्ति हासिल गर्नुभयो ।
सुसमाचार स्वयम् परमेश्वरसँगको सङ्गतिको आनन्द हो
सुसमाचार मा (“असल समाचार”) यो कुरा अस्पष्ट छ । यदि तपाईंले “असल समाचारको सर्वोच्च, सबैभन्दा सन्तोषजनक र सबै कुरालाई समेट्ने असल कुरा के हो ?” भनेर सोध्नुभयो भने, त्यसको जवाफ यही हुनेछः उद्धार पाएका मानिसहरूले उहाँलाई जान्नु र उहाँमा आनन्द मनाउनु । यो कुरालाई १ पत्रुस ३ः१८ मा स्पष्ट पारिएको छ, “किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटि मर्नुभयो ।” सुसमाचारका सम्पूर्ण उपहारहरू यही कुरालाई सम्भव पार्नका निम्ति छन् । हामीले क्षमा पाएका छौँ ताकि हाम्रो दोषहरूले हामीलाई परमेश्वरबाट अलग नबनाओस् । हामी धर्मी ठहर्याएका छौँ ताकि दण्डले हामीलाई परमेश्वरबाट टाढा नराखोस् । हामीलाई पुनरुत्थानमा नयाँ शरीरसँगै अनन्त जीवन दिइएको छ ताकि परमेश्वरको आनन्द लिने क्षमता हामीमा होस् । आफ्नो हृदयलाई जाँच्नुहोस् । तपाईंलाई किन क्षमाको आवश्यकता छ ? तपाईं किन धर्मी ठहरिन चाहनुहुन्छ ? तपाईं किन अनन्त जीवन चाहनुहुन्छ ? के तपाईंको जवाफ यही हुनेछ “किनकि म परमेश्वरमा आनन्द लिन चाहन्छु” ?
    सारांशमा भन्नुपर्दा, परमेश्वर जो ख्रीष्टमा हुनुहुन्छ उहाँनै सुसमाचारको मूल्य र इनाम हुनुहुन्छ । मूल्य तिर्नुहुने व्यक्ति नै सुसमाचारको इनाम हुनुहुन्छ । परमेश्वरले दिनुहुने सुसमाचारको प्रेमको इनाम अन्ततः उहाँनै हुनुहुन्छ । त्यसैको लागि हामी बनाइएका छौँ । यही कुरालाई हामीले पापमा गुमायौँ, र यही कुरालाई पुनस्थापित गर्न ख्रीष्ट आउनुभयो । “तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ । तपाईंको उपस्थितिद्वारा तपाईंले आनन्दले मलाई गद्गद् पार्नुहुनेछ । तपाईंको दाहिने बाहुलीमा अनन्त आनन्द छ” (भजनसंग्रह १६ः११) ।

तेस्रो व्यक्ति चर्च अनुशासन भनेको के हो ?