what did christ actually achive


“सीमित प्रायश्चित” शब्दावलीले यी प्रश्नहरू उब्जाउँछ, कि “ख्रीष्टले कसको लागि यी सबै कुराहरू गर्नुभयो ?” “उहाँ कसको लागि मर्नुभयो ?” “उहाँले कसको पापको लागि प्रायश्चित गर्नुभयो ?” “उहाँले कसका लागि मुक्तिको सबै लाभहरू किन्नुभयो ?” तर प्रायश्चितसम्बन्धी यी प्रश्नहरूको पछाडि प्रायश्चितको प्रकृतिसम्बद्ध समान महत्वको प्रश्न छ । ख्रीष्टले तिनीहरूको निम्ति क्रूसमा  वास्तवमै के हासिल गर्नुभयो, जसको लागि उहाँ मर्नुभयो ? यस प्रश्नले अरू प्रश्नहरूको सटीक जवानतर्फ डोर्याउनेछ ।
    यदि तपाईं ख्रीष्ट सबै मानिस जातिको निम्ति समानरूपमा मर्नुभयो भनी भन्नुहुन्छ भने, तपाईंले प्रायश्चितको प्रकृतिलाई ख्रीष्ट साँचो रूपमा विश्वास गर्नेहरूका लागि विशेषरूपमा मर्नुभयो भनी परिभाषित गर्नेले भन्दा भिन्नै किसिमले परिभाषित गर्नुपर्ने हुन्छ । सर्वप्रथम, तपाईंले यस्तो विश्वास गर्नुहुनेछ, कि ख्रीष्टको मृत्युले कसैको पनि मुक्ति निर्णायक रूपमा सुरक्षित गरेन; यसले केवल सबै मानिसहरूलाई बचाउन सकिने मात्र बनायो, र उनीहरूलाई बचाउनमा अरू नै केही कुरा निर्णायक हुनेछ, अर्थात् तिनीहरूको छनौट । यस्तो अवस्थामा, ख्रीष्टको मृत्युले मृत्युदण्ड हटाएन र कसैको नयाँ जीवनको ग्यारेन्टी दिएन । यसले त केवल ती मानिहरूको निम्ति मुक्तिको सम्भावनाहरू मात्र सिर्जना गर्यो  जसले विश्वास जस्ता निर्णायक कारणहरू जुटाउन सक्छन् । प्रायश्चित सम्बन्धी यस्तो बुझाइले विश्वास र पश्चात्ताप पापीहरूका लागि रगतले किनेको परमेश्वरको दानहरू नभई रगतलाई काम गर्न बनाउने पापीहरूको आफ्नै कार्यको रूपमा प्रस्तुत गर्दछ, जसले येशूको मृत्युको रगतलाई उनीहरूको मुक्तिको निम्ति काम गर्ने बनाउँछ ।
   
प्रायश्चितको यो सिद्धान्त अघिल्लो सिद्धान्त अर्थात् विरोध गर्न नसकिने अनुग्रहको सिद्धान्तसँग कसरी जोडिएको छ भनी तपाईं देख्न सक्नुहुन्छ । मलाई लाग्छ, कि विरोध गर्न नसकिने यही अनुग्रह येशूको रगतले किनिएको छ भनी बाइबलले सिकाउँछ । नयाँ जन्म रगतले किनिएको हो । प्रभावकारी बोलावट रगतले किनिएको हो । पश्चातापको दान रगतले किनिएको हो । विरोध गर्न नसकिने अनुग्रहको यी कुनैपनि  कार्यहरू योग्यताले कमाइएको होइन । यी सबै कुरा हामीले प्राप्त गर्यौँ, किनभने ख्रीष्टले आफ्नो रगत र धार्मिकताद्वारा तिनीहरूलाई सुरक्षित गर्नुभयो । तर यसको मतलब, उहाँले ती सबैको लागि समान रूपले सुरक्षित गर्नुभएन । अन्यथा सबै नयाँ गरी जन्मिनेछन्, र सबैलाई प्रभावकारी रूपमा बोलाइनेछ, र सबैले पश्चातापको दान प्राप्त गर्नेछन् ।
    तसर्थ यस अध्यायको सुरुमा हामीले सामना गर्नुपर्ने व्यक्तिगत र अनुभव गरिएको प्रश्न यो होः ख्रीष्टले निर्णायक रूपमा मसँग अहिले भएको मेरो बोलावट, जीवन, विश्वास र पश्चाताप सुरक्षित गर्नुभयो भनी के हामी विश्वास गर्दछौँ ? वा के यी कुराहरू मेरो आफ्नै तर्फबाटको योगदान हुन्, त्यसैले जे हासिल गर्न उहाँ मर्नुभयो त्यो मेरो लागि गन्ती हुन्छ ? यदि ख्रीष्ट सबै मानिसहरूका लागि समान रूपमा मर्नुभएको हो भने, उहाँको मृत्युले मुक्ति पाएकाहरूको लागि अचूकरूपमा नयाँ जन्म प्रदान गर्ने अनुग्रह वा विश्वास वा पश्चात्ताप हासिल गरेन । ख्रीष्टको रगतले किनिएको आश्चर्यकर्मबिना नै हामीले आफूलाई नयाँ जन्म दिएको हुनुपर्दछ, र रगतले किनिएको विश्वास र पश्चातापको दानबिना नै हामी आफै विश्वास र पश्चात्तापमा आएको हुनुपर्छ ।

    अर्को शब्दमा, यदि ख्रीष्ट सबै मानिसका लागि समान रूपमा मर्नुभयो भनी हामी विश्वास गर्दछौँ भने, कृपालाई क्रूसको लाभहरूमा समावेश गर्न सकिँदैन, जसद्वारा हामी विश्वासमा ल्याइन्छौँ, किनकि सबै मानिसहरू विश्वासमा ल्याइनेछन्, तर तिनीहरू विश्वासमा हुँदैनन् । तर यदि हामीलाई विश्वासमा ल्याउने कृपा विरोध गर्न नसकिने अनुग्रह ख्रीष्टले क्रूसमा   किन्नुभएको अंशहरूमध्ये एक होइन भने, हामीले अर्कै तरिकाबाट मृत्यु, अन्धोपना र विद्रोहबाट छुटकारा पाउनुपर्ने हुन्छ । हामी ख्रीष्टको सुरक्षाभित्र प्रवेश गर्ने बाटो आफैं  बनाउनुपर्ने हुन्छ, किनकि उहाँको मृत्युले हाम्रो लागि उक्त प्रवेशद्वार नयाँ जन्म, विश्वास, पश्चात्ताप प्राप्त गरेन ।

पारिवारिक आराधनाको ईश्वरशास्त्रीय जग क्रूसमा केन्द्रित महिमा