girl and boy reading book sitting between man and woman beside Christmas tree

पारिवारिक आराधनाको ईश्वरशास्त्रीय जग

Topic: Articles

प्रत्येक चर्चले वृद्धि हुने इच्छा गर्दछ । आश्चर्यजनक रुपमा, केही चर्चहरूले छोराछोरीहरूलाई करारीय सत्यमा हुर्काउने कुरालाई जोड दिई, आन्तरिक रुपमा चर्च वृद्धि हुने कुरालाई प्रोत्साहन दिन्छन् । धेरै जवानहरू किन परमेश्वरप्रति काल्पनिक विश्वास भएका अथवा सुसमचारिय सत्यलाई इन्कार गर्दै अबाइबलीय सिद्धान्त र आराधनाको तरिकालाई मान्ने चर्चको नाम मात्रको सदस्य बन्छन् भन्ने कुरालाई थोरैले मात्र गम्भिर तरिकाले बुझेका छन् । 
म विश्वास गर्छु, यसको एउटा मुख्य कारण चाहिँ पारिवारिक आराधनाको कमी हुनु हो । धेरै चर्चहरूमा र परिवारहरूमा पारिवारिक आराधना ऐच्छिक कुरा हुन्छ, अथवा खाना खानु अघि गरिने सतही अभ्यास मात्र हुन्छ । फलस्वरुप, धेरै बालबालिकाहरू ख्रीष्टियान विश्वास र दैनिक आराधनाको अनुभव वा छाप नलिइ हुर्किन्छन् । जब मेरा बुबा आमाले उहाँहरूको पन्ध्रौं वार्षिक उत्सव मनाउनुभयो, तब हामी पाँच जना छोराछोरी सबैले हाम्रा बुबा आमालाई धन्यवाद दिने निर्णय गर्यौँ तर के कुराको लागि धन्यवाद दिने भनेर हामीले सल्लाह गरेका थिएनौँ । तर आश्चर्यको कुरा के भयो भने, हामी सबैले हाम्रो आमालाई उहाँको प्रार्थनाको लागि र बुबालाई आइतबार हुने बेलुकाको पारिवारिक आराधनाको नेतृत्वको लागि धन्यवाद दियौँ । 
मेरो भाइले भन्यो, “बुबा, तपाईंले आइतबार बेलुका पारिवारिक आराधनामा पिल्ग्रिम्स् प्रोग्रेसबाट पवित्र आत्माले विश्वासीलाई कसरी अगुवाइ गर्नुहुन्छ भनी सिकाउनु हुँदा तपाईंको आखाँबाट आँशु झरेको अझै याद आउँछ । म तीन वर्षको हुँदा ख्रीष्टियानमत साँचो हो भनी दृढ विश्वास गराउन परमेश्वरले तपाईंलाई पारिवारिक आराधनामा प्रयोग गर्नुभयो । त्यसपछिका वर्षहरूमा म जति बरालिए पनि, मैलै ख्रीष्टियानमतको वास्तविकतालाई प्रश्न गर्न सकिनँ, र यस कुराको लागि तपाईंलाई धन्यवाद दिन चाहन्छु ।
के हामी हाम्रा बालबालिकाहरूमा जागृति देख्न चाहन्छौँ ? हामी याद गरौँ, कि परमेश्वरले चर्च जागृतिको लागि पारिवारिक आराधनाको पुनर्स्थापनालाई प्रयोग गर्नुहुन्छ । उदाहरणको लागि, १६७७ मा डोर्चेस्टर, म्यास्याचुसेटमा भएको प्युरिटन् चर्चका सदस्यहरूले आफ्नो चर्च करारमा “परिवारलाई सुधार गर्न, विश्वसनीय वास्ता गर्दै उनीहरूमा परमेश्वरको आराधना कायम राख्न; घरमा सिद्ध हृदयका साथ जिउन, सबैघरेलु कर्तव्यहरूमा, आफ्ना बालबालिका र परिवारलाई व्यवस्थित पार्ने कुरामा, शिक्षा दिँदै, आज्ञा दिँदै, परमेश्वरको मार्गमा हिँडाउने” प्रतिबद्धता समावेश गरिएको थियो । 
परिवार जसरी अघि बढ्छ, त्यसरी नै चर्च अनि राष्ट्र बढ्छ । पारिवारिक आराधना परिवार अघि बढाउने सबैभन्दा निर्णायक तत्व हो ।  
पक्कैपनि, पारिवारिक आराधनाले मात्र परिवार अघि बढ्ने कुरालाई फरक पार्दैन । त्यहाँ विभिन्न तत्त्वहरू छन् । पारिवारिक आराधनाले अभिभावकीय कर्तव्यलाई प्रतिस्थापन गर्दैन । अभिभावकहरू पारिवारिक आराधनाको उदाहरण भएनन् भने, पारिवारिक आराधना व्यर्थ हुन्छ । शनिबारको दिनमा प्रचार गरिने वचन महत्वपूर्ण हुन्छ, तर पारिवारिक आराधनाको निम्ति समय छुट्ट्याउनु त्यतिकै महत्वपूर्ण हुन्छ । पारिवारिक आराधना बाइबलीय रुपमा बालबालिका हुर्काउने जग हो ।
यस किताबमा, हामी पारिवारिक आराधनालाई पाँचवटा शिर्षकहरूमा जाँच गर्नेछौँः (१) इश्वरशास्त्रीय जगहरू, (२) कर्तव्य; (३) कार्यन्वयन; (४) विरोधहरू; (५) प्रेरणाहरू ।
पारिवारिक आराधनाको इश्वरशास्त्रीय जगहरू परमेश्वरको अस्तित्वमा नै शुरु हुन्छ । प्रेरित यूहन्नाले भन्छन्, कि परमेश्वरको प्रेमलाई त्रिएकीय जीवनबाट छुट्ट्याउन सकिँदैन । परमेश्वरको प्रेम मिलनसार र भरिएर पोखिने खालको छ । यसले आफ्नो आशिष त्रिएकत्वको एउटा व्यक्तिबाट अर्को व्यक्तिमा बाँड्छ । परमेश्वर कहिल्यै पनि आफैँमा केही कुराको कमी भएको एकान्तवासमा बस्ने व्यक्ति जस्तो हुनुहुन्न । ज्योति र प्रेमको भरपुरी पिता, पुत्र, र पवित्र आत्मामा छ । 
महिमित त्रिएक परमेश्वरले आफैँलाई हाम्रो परिवारको ढाँचामा ढाल्नुभएन; बरु, उहाँले आफ्नो ढाँचामा परिवारको सांसारिक अवधारणालाई ढाल्नुभयो । हाम्रो पारिवारिक जीवनले विरलै पवित्र त्रिएकत्वको जीवनलाई प्रतिबिम्बित गर्दछ । त्यसकारण पावलले “पिताको सामने आफ्ना घुँडा टेक्तछु, जसद्वारा स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ” भनी भन्छन् (एफिसी ३ः१४–१५) । त्रिएकत्वको व्यक्तिहरूको एकअर्काप्रतिको प्रेम अनन्तदेखि नै धेरै छ, त्यसकारण पिताले संसारमा सीमितता भएका मानिसहरू सृष्टि गर्ने संकल्प गर्नुभयो, जो पुत्रको व्यक्तित्व प्रतिबिम्बित गर्ने किसिमको होस् । पुत्रसँग दृढ भएर मानिसहरूले त्रिएकत्वको पारिवारिक जीवनको आशिषित पवित्रता र आनन्द बाँढ्न सकुन् । 

परमेश्वरले आदमलाई आफ्नै स्वरूपमा बनाउनुभयो, र हव्वालाई आदमबाट बनाउनुभयो । उनीहरूबाट समस्त मानव परिवार आए ताकि मानिसले परमेश्वरसँग करारको संगति गर्न सकोस् । आदम र हव्वा, दुई सदस्यीय परिवार थिए, हाम्रो पहिलो आमाबुवाले परमेश्वर अदनको बगैँचामा हिँड्नु हुँदा श्रद्धापूर्वक आराधना गर्दथे (उत्पत्ति ३ः८) । 
आदम अनाज्ञाकारी भएको कारण परमेश्वरसँगको सङ्गति र आराधनाबाट प्राप्त हुने आनन्द, डर, भय, दोष, र बिछोडमा परिणत भयो । हामी मानव जातिको प्रतिनिधि आदमले परमेश्वरको परिवार र मानिसको परिवारको बीचमा विभाजन ल्याए । तर परमेश्वरको उद्देश्य भने असफल भएन । उनीहरू अदनको बगैँचामा हुँदा नै परमेश्वरले नयाँ करार बाँध्नुभयो, जुन अनुग्रहको करार थियो, र आदम र हव्वालाई उहाँको पुत्रको बारेमा भन्नुभयो, जसले स्त्रीको बिउको रूपमा उनीहरूमाथि भएको शैतानको शक्तिलाई तोड्नुहुन्छ, र त्यस अनुग्रहको करारको आशिष उनीहरूको लागि सुरक्षित राख्नुहुन्छ (उत्पत्ति ३ः१५) । व्यवस्थाप्रति ख्रीष्टको आज्ञाकारिता र पापको लागि उहाँको बलिदानद्वारा, परमेश्वरले आफ्नो पूर्ण न्यायलाई सन्तुष्ट पारी पापीहरूलाई बचाउने बाटो खोल्नुभयो । संसारको पाप उठाइलैजान थुमा गलगथामा मारिनुपथ्र्यो ताकि हामी जस्ता दयनीय पापीहरू त्रिएक परमेश्वरको महिमा गर्ने, आराधना गर्ने र उहाँसँग सङ्गति गर्ने हाम्रो प्रमुख उद्देश्यमा पुनर्स्थापना हुन सकौँ । १ यूहन्ना १ः३ ले भन्छ “हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ ।”
परमेश्वरले मानव जातिसँग करार र नेतृत्वद्वारा, वा प्रतिनिधित्वद्वारा चासो राख्नुहुन्छ । दैनिक जीवनमा अविभावकले बालबालिकाको प्रतिनिधि गरेका हुन्छन्, बुबाले आफ्नो पत्नी र बच्चाहरूको प्रतिनिधि गरेको हुन्छ, चर्चका पास्टर तथा अगुवाले चर्चका सदस्यहरूको प्रतिनिधि गरेका हुन्छन्, र  सांसदले नागरिकको प्रतिनिधि गरेको हुन्छ । आत्मिक जीवनमा पनि प्रत्येक व्यक्ति कि पहिलो आदम कि अन्तिम आदमबाट प्रतिनिधित्व गरिएका  हुन्छन् (रोमी ५ र १ कोरिन्थी १५ हेर्नुस् । धर्मशास्त्रमा हामीले प्रतिनिधित्वको नियम सबै ठाउँमा देख्न सक्छौँ । उदाहरणको लागि, हामी शेतको वंशावली पढ्छौँ, र आफ्नो बालबालिकाहरूको खातिर नोआले र अय्यूबले चढाएको बलिबारे पढ्छौँ उत्पत्ति ८ः२०–२१; अय्यूब १ः५) । परमेश्वरले मानव जातिलाई परिवारहरू र कुल घराना बनाएर व्यवस्थित पार्नुभयो, र बुबाको नेतृत्वद्वारा उनीहरूलाई सम्हाल्नुभयो । परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्” उत्पत्ति १२ः३) । 
परमेश्वरको आराधना र सङ्गति गर्ने परिवार र बुबाले उक्त परिवारको प्रतिनिधित्व गर्ने नियम मोशाको आर्थिक व्यवस्थामा चलिरह्यो । गन्तीको पुस्तकले विशेषगरि परमेश्वरले आफ्नो जातिलाई परिवार र उनीहरूको घरमूलीको शर्तमा सम्झौता गर्नुभयो । बुबाले निस्तार–चाडको समयमा नेतृत्व गरेर आफ्ना बालबालिकालाई त्यसको अर्थ बताइ शिक्षा दिनुपर्थ्यो । 
इस्राएलमा भएको राजतन्त्रमा र पुरानो नियमका अगमवक्ताहरूको समयमा, आराधनामा बुबाको नेतृत्वको भुमिका चलिरह्यो । उदाहरणको लागि, जकरियाले भविष्यमा पवित्र आत्मा खन्याइनेछ, मानिसहरूले अनुग्रह र नम्र–निवेदन गर्ने आत्माको रुपमा उहाँलाई अनुभव गर्नेछन्, प्रत्येक परिवारलाई छुनुहुनेछ र उनीहरू विलाप गर्नेछन् भनी अगमवाणी गरे । उनीहरूको पिता र घरमूली अनुसार, दाऊदको घराना अनुसार, लेवीको घराना अनुसार, र शिमीका वंश अनुसार निश्चित परिवारहरूको नाम दिइएको छ (जकरिया १२ः१०–१४) । 
आराधना र पारिवारिक जीवनबीचको सम्बन्ध नयाँ करारको समयमा पनि कायमै रह्यो । पत्रुसले विश्वासको पिता अब्राहामसँग गरिएको प्रतिज्ञालाई पुनः पुष्टि गरे (रोमी ४ः११, उनले उनको पेन्तिकोसको प्रचारमा यहूदी समक्ष यो घोषणा गरे कि “प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढ़ा–टाढ़ामा रहेका सबैका निम्ति हो” ( प्रेरित २ः३९ । पावलले १ कोरिन्थी ७ः १४ भन्छन्, कि आमाबुबाको विश्वासले पवित्रताको करारको वैधानिकता, विशेषाधिकार, र बालबालिकाप्रति उनीहरूको जिम्मेवारीलाई स्थापना गर्दछ । आमाबुबासहित आफ्ना बालबालिकालाई शरीरको सदस्यको रुपमा समावेश गर्ने (एफिसी ६ः१–४, र तिमोथी जस्तो एक्लो विश्वासीको अनुभवलाई पनि समावेश गर्ने (२ तिमोथी १ः५, ३ः१५ नयाँ नियमका चर्चले परिवारभित्रको आराधना र विश्वासको महत्वलाई पुनः पुष्टि गर्छ । 
निष्कर्षमा डग्लास केली भन्नुहुन्छ, “परिवारको विश्वास दैनिक रुपमा परमेश्वरको आराधनामा परिवारलाई नेतृत्व गर्ने घरमूलीमा भरपर्छ, परिवारको विश्वास, करार कायम राख्नुहुने परमेश्वरले अन्य पुस्ताहरूमा उद्धारलाई विस्तार गर्न दिनुभएको शक्तिशाली संरचना हो, ताकि असंख्य मानिसहरूलाई जीवित परमेश्वरको सङ्गति र आराधनामा ल्याउन सकियोस् ।”

नयाँ जन्मः सार्वभौम सृष्टिको एक कार्य    ख्रीष्टले वास्तवमा के हासिल गर्नुभयो ?