person holding gold chalice

विचार गर्नुपर्ने अन्तिम व्यावहारिक कुरा चाहिँ, तपाईं एक विश्वासीको रूपमा कसरी प्रभु–भोजमा सामेल हुनुपर्छ  ? तपाईंको उत्साहको लागि मसँग  चार ओटा सङ्क्षिप्त  कुराहरू छन् ।

क्रूसलाई हेर्नुहोस्
पहिले, क्रूसलाई हेर्नुहोस् । तपाईंले खानु भएको रोटी र पिउनु भएको कचौराले येशूले आफैलाई तपाईंको लागि दिनुभएको सङ्केत गर्दछ । जब येशूले आफ्नो शरीर त्याग गर्नुभयो र आफ्नो रगत बग्न दिनुभयो, उहाँले यो तपाईंको लागि गर्नुभयो । येशूले क्रूसको लाज, पीडा, र पाप विरुद्धको परमेश्वरको सबै क्रोध, तपाईंको लागि सहनुभयो। प्रभु–भोजले, ख्रीष्टले क्रूसमा  सिद्धयाउनुभएको हाम्रो मुक्तिको कामको घोषणा गर्दछ । यसले हामीलाई हाम्रो मुक्ति कमाउन होइन तर जुन मुक्ति हाम्रो हो प्राप्त गर्न घोषणा गर्दछ ।  
त्यसैले, जब तपाईं आफ्नो चर्चसँग प्रभु–भोजको अभ्यास गर्नुहुन्छ, क्रूसलाई  हेर्नुहोस् । आनन्द र आश्चर्य, श्रद्धा र धन्यवादका साथ क्रूसलाई  हेर्नुहोस् । यदि तपाईंका पापहरू धेरै ठूला वा परमेश्वरबाट क्षमा नपाउने खालका छन् भन्ने विश्वास गर्न परीक्षामा पर्दै हुनुहुन्छ भने, क्रूसमा हेर्नुहोस् । सबै पाप र अपराधलाई क्षमा गर्न येशूको बलिदान पर्याप्त छ ।  
वरिपरि हेर्नुहोस्
दोस्रो, तपाईंको वरिपरि हेर्नुहोस् । हामीले यस सानो पुस्तकैभरि हेर्यौँ कि प्रभु–भोज चर्चको भोज हो । यसले एक–अर्का र ख्रीष्टसँगको हाम्रो सङ्गतिलाई छाप लगाउँदछ । यसले धेरैलाई एक बनाउँदै चर्चलाई सँगै अगि बढाउँछ ।
प्रभु–भोज कुनै व्यक्तिगत उपासनाको अनुभव होइन, जुन एकै समयमा एउटै काम गर्ने अन्य व्यक्तिहरूको समूहलाई समावेश गर्नको लागि गरिन्छ । त्यसैले प्रभु–भोजको एकतामा रमाउनुहोस् । आफ्नो आँखा बन्द गरेर आफ्नो पाप स्वीकार गर्ने मात्र होइन, तपाईंको वरिपरि हेर्नुहोस् र उहाँले उद्धार गर्नुभएकाहरू देखेर चकित हुनुहोस् । प्रभु–भोजको अभ्यासलाई नियमित रूपमा तपाईंको जीवनमा अरूको विरुद्धमा गरिएका स्वीकार नगरिएको पाप स्वीकार गर्न वा कोहीसँग मिलाप गर्नुपर्ने छ कि भनी तपाईंको जीवन जाँच्नको निम्ति प्रयोग गर्नुहोस् । यदि तपाईंले एक–अर्कासँग मिलाप गर्नुपर्ने, क्षमा माग्नुपर्ने वा क्षमा दिनुपर्ने केही कुरालाई तपाईंको जीवनमा भेटाउनुभयो भने जति सक्दो चाँडो मिलाप गर्नुहोस्, यदि तपाईंले चर्चको बिचमै छोटो कुराकानी गर्नुपर्छ र भने पनि त्यही समय मिलाप गर्नुहोस् । 
प्रभु–भोजले सङ्केत गरेको र छाप लगाएको विविधताको एकतामा आनन्द गर्नुहोस् । हामी धेरै भएतापनि एक भएका छौँ । हामीलाई विभाजित गर्न चुनौति दिने सबै कुराहरू ख्रीष्टले हामीलाई बचाउन र हामीलाई एकताबद्ध गर्न बगाउनुभएको रगतको तुलनामा केही पनि होइनन् । हामी सबै एउटै रोटीमा सामेल हुन्छौँ; हामी सबैले एउटै मुक्तिदातालाई ग्रहण गर्छौ । एक आधुनिक भजन– लेखकले लेखेझैँ , “अब बलियो र कमजोरहरू उहाँको रगतमुनि उस्तै छन् । किनकि उहाँको अनन्त प्रेम प्राप्त गर्न सबै खाली हात आउनुपर्छ” ।५ प्रभु–भोजमा विभाजनहरू लोप हुन्छन् । त्यसकारण प्रभु–भोजले हरेक ख्रीष्टियानको हृदयमा एकताको जोशपूर्ण खोजलाई जगाउनुपर्छ । 
त्यसैले प्रभु–भोजमा, तपाईंको वरिपरि हेर्नुहोस् । यो याद गर्नुहोस् कि, तपाईंलाई उद्धार गर्नुहुने ख्रीष्टले नै तपाईंका वरिपरि बसेका दाजुभाइ दिदीबहिनीहरूलाई बचाउनु भएको हो । ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा प्राप्त गर्दा उहाँका मानिसहरूलाई आफ्नो परिवारको रूपमा प्राप्त गर्नुभएकोमा आनन्दित हुनुहोस् ।
अगाडि हेर्नुहोस्
तेस्रो, अगाडि हेर्नुहोस् । हामीले अध्याय ५ मा हेर्यौँ कि, प्रभु–भोजले पछाडि फर्केर केवल क्रूसमा  मात्र हेर्दैन; यसले त आउँदै गरेको राज्यतिर पनि हेर्दछ । समय आउँदैछ जब ख्रीष्ट आफैले हाम्रो लागि भोज तयार गर्नुहुनेछ र हामीसँग सहभागी हुनुहुनेछ (मत्ती २६ः२९) । एक दिन आउँदैछ जब परमेश्वरले ख्रीष्ट र उहाँको दुलहीको लागि सबैभन्दा ठूलो विवाह भोज दिनुहुनेछ (प्रकाश १९ः७,९)।
प्रभु–भोजमा हामीले आनन्द गर्ने ख्रीष्ट र उहाँका जनहरूसँगको सङ्गतिको सबै लाभ केवल आउँदै गरेको भोजको एक पूर्व चित्रण मात्र हो । यो मुख्य भोजन होइन, तर यो आउँदै गरेको भोजको लागि तयारी हो । त्यसैले अगाडि हेर्नुहोस् । ख्रीष्टको मृत्यु र पुनरुत्थानमा, परमेश्वरले आफ्ना मानिसहरूलाई क्षमा गरी आफ्नो प्रतिज्ञा गर्नुभयोः यो उहाँले हामीलाई आफूसँग मिलापमा ल्याउन र हामीलाई पापको दासत्वबाट मुक्त गर्नको निम्ति गर्नुभयो । र उहाँले संसारलाई पुनर्निर्माण गरी, मृत्युलाई नष्ट पारि र आफ्ना मानिसहरूलाई सदाको लागि आफूसँग एकताबद्ध गरी आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ । त्यसैले जब तपाईं रोटी र कचौरामा सहभागी हुनुहुन्छ, आशा र उत्सुकतासाथ अगाडि हेर्नुहोस् । परमेश्वरले अन्तको लागि उत्तम कुरा साँचेर राखिरहनुभएको छ । 
आफ्नो हृदयलाई जाँच्नुहोस् र क्रूसतिर हेर्नुहोस् 
अन्तमा, आफ्नो हृदयलाई जाँच्नुहोस्, र क्रूसतिर हेर्नुहोस् । प्रभु–भोजको समय आफैलाई जाँच्ने र परमेश्वरको सामु आफ्ना पापहरू स्वीकार गर्ने उपयुक्त समय हो । सुसमाचारले क्षमा प्रदान गर्दछ किनभने हामीलाई यसको आवश्यकता छ । ख्रीष्टले हाम्रो लागि आफ्नो रगत बगाउनुभयो किनभने उहाँको मृत्युले मात्र हामीलाई पापबाट छुटकारा दिन सक्छ । त्यसकारण प्रभु–भोजमा हामीलाई क्षमाको लागि हाम्रो आवश्यकताको बारेमा फेरि सम्झाउनु पर्छ, र हामीले उहाँको महिमाबाट चुकेका कुराहरू परमेश्वरको सामु स्वीकार गर्नुपर्छ ।
तर त्यहीँ नरोकिनुहोस् । यदि प्रभु–भोज तपाईंको दोषलाई देखाउने माध्यम मात्र बन्दै छ भने तपाईंले यसको मुख्य कुरालाई छुटाउँदै हुनुहुन्छ । किनभने प्रभु–भोजले हामीलाई यो पनि घोषणा गर्दछ कि हाम्रो दोष मेटिएका छन्, हाम्रो ऋण तिरिएका छन्, हाम्रो दण्ड भोगिएका छन्, हाम्रा पापहरू क्षमा गरिएका र बिर्सिएका छन् । त्यसैले, आफ्नो हृदयलाई जाँच्नुहोस् र क्रूसतिर हेर्नुहोस् ।
फेरि एकपटक
प्रभु–भोजको मुख्य कुरा भनेको सुसमाचार हो । सुसमाचारले हामीलाई पापबाट मुक्त गर्छ । सुसमाचारले हामीलाई परमेश्वरसँग मिलाप गराउँछ । सुसमाचारले हामीलाई परमेश्वर हाम्रो पिताको रूपमा, ख्रीष्ट हाम्रो जेठो दाजुको रूपमा र सबै विश्वासीहरू हाम्रा दाजुभाइ र दिदीबहिनीको रूपमा प्रदान गर्दछ । सुसमाचारले हामीलाई ख्रीष्टसँग र एक अर्कासँग एकताबद्ध बनाउँछ ।
हाम्रो दृष्टिको निम्ति, हाम्रो स्पर्शको निम्ति र हाम्रो स्वादको निम्ति प्रभु–भोजले यी सबै कुराहरू चित्रण गर्छ र प्रस्तुत गर्दछ । प्रभु–भोजमा हामी ख्रीष्टसँग एक हुन्छौँ र त्यसैगरी उहाँका मानिसहरूसँग पनि एक हुन्छौँ । जब हामी रोटी खान्छौँ र कचौरा पिउँछौँ, हामी ख्रीष्टमा भएको हाम्रो भरोसा र उहाँका मानिसहरूप्रतिको हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्छौँ । जब हामी प्रभु–भोजको अभ्यास गर्छौँ, हामी ख्रीष्टलाई पुन अँगाल्छौँ, र हामी उहाँका सबै मानिसहरूलाई पनि अँगाल्छौँ ।

बप्तिस्मा के होइन ? महान् आदेश, तपाईं र स्थानीय चर्च