people holding shoulders sitting on wall

यदि हामी परमेश्वरको क्रोधबाट उद्धार गरिन्छौँ भने, त्यो काम परमेश्वरको अनुग्रहद्वारा नै हुनुपर्दछ । एफिसी २ अध्यायमा पावल फेरि भन्छन्, “किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको दान हो” (पद ८) ।
हामीले खाना खानुभन्दा पहिला “अनुग्रह भन्ने” बारेमा कुरा गर्दछौँ । तर वास्तवमा, कसैले पनि “अनुग्रह भन्न” सक्दैन । हामीले अनुग्रह लिनमात्र सक्छौँ, किनभने अनुग्रह उपहार हो । परिभाषाअनुसार, उपहार पाउन योग्यको कुरा होइन (जसलाई हामी अधिकारहरू भन्दैछौँ) । ती त दिइन वा प्राप्त गर्नमात्र सकिन्छन् । पावलले सोचेका अनुग्रहको अतुलनीय दान भनेको परमेश्वरले गर्नुहुने पाप क्षमाको दान हो जुन क्षमादानलाई मानव जातिको सट्टामा ख्रीष्टले आफ्नो बलिदानद्वारा किन्नुभयो । ख्रीष्टले आफूले प्रतिनिधित्व गर्ने व्यक्तिहरूका पापको खातिर परमेश्वरको दन्किने क्रोधलाई साम्य पार्नुभएको हुनाले, पश्चात्ताप गर्ने र विश्वास गर्ने सबैलाई पिताले अनुग्रहपूर्वक मुक्ति दिनुहुन्छ ।
परमेश्वरको अनुग्रहको सत्यताले यसो भन्ने नैतिकवादलाई चुनौती दिन्छ– हामीले परमेश्वरमा ग्रहणयोग्य हुने गरी आफूलाई सफा पार्न सक्छौँ । यसले, परमेश्वरले मलाई कहिल्यै क्षमा दिन सक्नुहुन्न वा त्यसको विपरीत, परमेश्वरले मलाई क्षमा दिनु पर्दैन भन्ने घमण्डलाई आक्रमण गर्दछ । त्यसले विश्वासलाई त्यसकै ठाउँमा राखिदिन्छ ।

त्यो अन्तिम बुँदाबारे सोचविचार गरौँ । पावल भन्छन् कि हामी विश्वासद्वारा अनुग्रहले उद्धार गरिएका छौँ । अनुग्रहले नै उद्धार गराउँछ । विश्वासचाहिँ साधन हो अर्थात् हामीलाई विश्वासले उद्धार गराउँदैन । बरु, हामीलाई अनुग्रहले उद्धार गराउँछ र विश्वासले अनुग्रहलाई ग्रहण गर्दछ । विश्वासले त्यो उपहारमा भरोसा गर्दछ । त्यसैकारण मार्टिन लुथरले यो सत्यतालाई जोड दिए कि केवल विश्वासद्वारा मात्र हाम्रो उद्धार गराइन्छ । रोमन क्याथोलिक चर्चले यस्तो सिकाउँथ्यो कि हामीले असल कामहरू गर्दाखेरि, विशेषगरी समूहलाई ग्रहण गर्दाखेरि, परमेश्वरसँग सहकार्य गर्यौँ भने परमेश्वरको अनुग्रह पाइन्छ । तर लुथरले यस्तो सिकाए— असल कामहरूको सहकार्यबिना नै केवल विश्वासद्वारा परमेश्वरको अनुग्रह प्राप्त गरिन्छ । त्यसैले प्रष्टरूपमा भन्नुपर्दा, विश्वासले उद्धार गराउँदैन । अनुग्रहले गराउँछ ।

तर विश्वासले हाम्रो उद्धार गराउँछ भनी हामीले सोच्दा के हुन्छ त ? इमानदारिता सर्वोच्च बन्दछ । हामीले विश्वासलाई एक्लो कामको रूपमा सोच्न सुरु गर्दछौँ— एकपटक गरिएको प्रार्थना, एकपटक गरिएको निर्णय, एकपटक गरिएको हस्ताक्षर, एकपटक उठाइएको हात— तर त्यो सम्पूर्ण जीवनको परिवर्तन होइन । समस्या यो हुन्छ, पर्याप्त मात्रामा इमानदार थियौँ कि थिएनौँ भन्ने कुरामा हामी कहिल्यै पनि निश्चित हुन सक्दैनौँ । त्यसैले असुरक्षा उत्पन्न हुन्छ र पुनः समर्पित हुने संस्कृति विकास हुन्छ । चिन्तित बालबालिकाले बारम्बार “प्रार्थना” गर्दछन् । जवानहरूले हरेक जवान सम्मेलनमा आफूलाई पुनः समर्पण गर्दछन् । वयस्कहरूले पनि त्यस्तै गर्दछन् । सबैले यही आशा गरिरहेका हुन्छन् कि यसपटक भने विश्वासको अभिव्यक्ति पर्याप्त मात्रामा इमानदार हुनेछ ।
हामी अर्को अध्यायमा विश्वासको बारेमा थप छलफल गर्नेछौँ, तर अहिले यो कुरालाई जोड दिनु महत्वपूर्ण हुन्छ कि विश्वास भनेको त्यसको गहनताद्वारा परमेश्वरले मूल्याङ्कन गर्नुहुने भावना होइन । त्यसैले प्रश्न यो होइन, “के तपाईंले साँच्चै विश्वास गर्नुहुन्छ ?” जसरी फ्यानी क्रस्बीले अथ्र्याएका थिए । प्रश्न त यो हो, “तपाईंले कसमाथि विश्वास गर्नुहुन्छ ?”

मलाई डर लाग्छ, हाम्रा सुसमाचारवादी चर्चहरूले चिन्तित ख्रीष्टियानहरूको पुस्ता तयार पारिरहेका छन् जसले आफ्नो विश्वासलाई निरन्तर जाँच गर्दछन् । बरु चर्चहरूले त ख्रीष्टमा हुनुहुने परमेश्वरतिर पो निरन्तर अगुवाइ गर्नुपर्थ्यो, जो भलो तथा उदार र आश्चर्यजनक रूपमा अनुग्रही हुनुहुन्छ । हामीले मुक्तिको निम्ति उहाँलाई र उहाँको अनुग्रहमा भरोसा गर्नुपर्दछ, हाम्रा भावनाहरूको शक्तिमा होइन ।

उचित सन्दर्भीकरण र अबाइबलीय सम्झौताबीचको भिन्नतालाई कसरी छुट्याउन सकिन्छ ? नयाँ जन्मः सार्वभौम सृष्टिको एक कार्य