Photo by Shelby Miller

साँचो सिद्धान्तले बाइबल पठन र शिक्षणमा कसरी प्रभाव पार्छ भन्ने कुराको थप विवरण प्रस्तुत गर्नको निम्ति‚ सर्वप्रथम बाइबल के हो भन्ने कुराबारे सोचविचार गरौँ ।


के बाइबल तत्काल आत्मिक अगुवाइ पाउनको निम्ति तपाईंले जथाभावी खोल्न मिल्ने जादुको पुस्तक हो ? (बाइबलको जुवा खेल्ने कोही छ ?) के त्यो हलमार्क कार्डको पसल हो जसले तपाईंलाई जीवनको हरेक मौसमको लागि प्रेरणादायी विचार प्रदान गर्दछ ? के त्यो नैतिक आत्मा सुधारका सिफारिसहरूको सूची हो ? के त्यो प्रेरणादायी दन्त्यकथाहरूको सङ्ग्रह हो ?

(१) बाइबल प्रकाश हो ।
परमेश्वरले आफ्नो वचनद्वारा आफैलाई हामीसमक्ष प्रकट गर्नुहुन्छ । पवित्रशास्त्रको हरेक वचन उहाँको प्रेरणाद्वारा लेखिएको हो (२ तिमोथी ३:१६) । पवित्रशास्त्रका लेखकहरू विभिन्न संस्कृतिका थिए र तिनीहरूका व्यक्तित्वहरू फरक थिए । अनि तिनीहरूले भिन्न समयहरूमा भिन्न विधाहरूमा लेखे‚ तर तिनीहरू सबैजना पवित्र आत्माद्वारा नियन्त्रित थिए जसको कारण तिनीहरू “परमेश्वरबाट बोले” (२ पत्रुस १:२१) । तिनीहरू सबैले परमेश्वरकै वचन लेखे ।

(२) बाइबल एउटा कथा हो जसले एउटा सन्देश प्रचार गर्दछ ।
सुरुदेखि अन्त्यसम्म‚ बाइबलले मुक्तिको एउटै कथा भन्छ । सृष्टिदेखि‚ हामी पापमा फसेका अवस्था हुँदै‚ येशूले क्रूसमा पूरा गर्नुभएको मुक्ति दिने काम र अन्तत: सारा सृष्टिमा परमेश्वरको शासन पुनर्स्थापना हुने कामसम्म‚ बाइबलले सिङ्गो महाकाव्यको वर्णन गर्दछ जुन उत्पत्तिदेखि प्रकाशसम्म फैलिएको छ । परमेश्वरले आफ्नो पुत्र येशूद्वारा आफ्ना जनहरूको लागि मुक्तिको काम कसरी पूरा गरिरहनुभएको छ भन्ने कथा यसले बताउँछ।

तैपनि यो एउटा कथामात्र होइन— यो त वास्तवमै भएको घटनाको वृत्तान्त हो । यो त्यो कथा हो जसमा हामी जिउँछौँ । ख्रीष्टियानहरूले बाइबलको कथाको समय रेखाअनुसार जीवनको योजना बनाउन सक्छ र बनाउनुपर्दछ— हामी येशूको मृत्यु‚ पुनर्जीवन र स्वर्ग प्रस्थानपछि र पवित्र आत्मा खन्याइनुभएपछि‚ येशूको अन्तिम पुनरागमनभन्दा अगाडि जिउँछौँ । बाइबलको कथाले हामी कहाँबाट आएका हौँ ? हामी कहाँ छौँ ? हामी को हौँ ? र हामी कहाँ जाँदैछौँ भनी व्याख्या गर्दछ ।

यो कथाबाट कसरी साँचो सिद्धान्त उत्पन्न हुन्छ र साँचो सिद्धान्त उक्त कथाको अभिन्न अङ्ग हुन्छ भनी याद गर्नुहोस् ।
• सृष्टिबाट हामी सिक्छौँ कि परमेश्वर पराक्रमी‚ पवित्र‚ बुद्धिमान् र भलो
हुनुहुन्छ (भजनसंग्रह १०४) ।
• पतनबाट हामी जान्दछौँ कि परमेश्वर सिद्ध रूपमा धर्मी हुनुहुन्छ र पाप विरुद्ध उहाँको क्रोध दन्किन्छ‚ तैपनि उहाँ पापीहरूप्रति कृपालु र धैर्यवान् पनि हुनुहुन्छ‚ जसमा हामी सबै पर्दछौँ (उत्पत्ति ३) ।
• येशूको जीवनमा हामी परमेश्वरको पवित्र र दयालु चरित्र सिद्ध रूपमा प्रकट भएको देख्दछौँ (यूहन्ना १:१८;१४:९) ।
• येशूको जीवनमा परमेश्वरको न्याय र प्रेम मिलेर मुक्तिको काम पूरा गरेका हामी देख्दछौँ (रोमी ३:२१–२६;५:६–११) ।
• येशूको पुनर्जीवनमा हामी मृत्युमाथिको विजय देख्दछौँ जुन परमेश्वरले उहाँका सबै जनहरूको निम्ति प्रतिज्ञा गर्नुहुन्छ (२ कोरिन्थी ४:१४) ।
• येशूले फेरि आउने र सारा सृष्टिमाथि परमेश्वरको शासन पुनर्स्थापना गर्ने भनी गर्नुभएको प्रतिज्ञामा हामी परमेश्वरको विश्वासयोग्यता‚ उहाँले आफ्ना जनहरूमाथि प्रशस्त मात्रामा देखाउनुभएको उदारता‚ र अरू धेरै कुरा देख्दछौँ (प्रकाश २२:१२) ।

अर्को शब्दमा‚ बाइबल एउटा कथा हो जसले एउटा सन्देश प्रचार गर्दछ । माइकल होर्टनको वाक्यांशलाई सापट लिने हो भने‚ “यो एउटा नाटक हो जसले सिद्धान्त उत्पन्न गराउँछ । यो एउटा वृत्तान्त हो जुन शिक्षाले भरिएको छ । साँचो सिद्धान्त बाइबलमा रहेको मुक्तिको महान् कथाबाट उत्पन्न हुन्छ ।”

(३) बाइबल परमेश्वरको छुटकारा दिने काम पूरा गर्नको लागि उहाँको हातको एउटा औजार हो ।
पवित्रशास्त्र पढ्दा हामी जीवित परमेश्वरको आवाज सुन्छौँ ( हिब्रू ४:१२–१३) । परमेश्वरको वचन जित्नै नसकिने गरी पराक्रमी हुन्छ— उहाँका उद्देश्यहरू पूरा गर्नदेखि त्यो कहिल्यै पनि चुक्दैन (यशैया ५५:१०–११) । ती उद्देश्यहरूमा पापीहरूलाई उद्धार गर्ने कार्य र ख्रीष्टमा भएकाहरूलाई पवित्र तुल्याउने कार्य पर्दछन् (१ पत्रुस १:२३–२५; यूहन्ना १७:१७; १ थेसलोनिकी २:१३) । त्यसैले‚ पवित्रशास्त्रको कुरा गर्दा हामीले त्यसद्वारा परिवर्तित हुने आशा गर्नुपर्दछ । हाम्रो तीर्थयात्राको बाटोमा हामीलाई थप अगाडि धकेलिदिने आशा गर्नुपर्दछ । त्यसले हामीलाई ख्रीष्टको स्वरूपमा अझ पूर्णरूपमा ढालिदिने आशा गर्नुपर्दछ । Find this book at https://gospelpublication.com/product/sound-doctrine-2/

Scripture तपाईं नयाँगरी जन्मनु पर्दछ