ख्रीष्टियान जीवनको लक्ष्य के हो ? ख्रीष्टप्रतिको आज्ञाकारिताले जन्माउने ईश्वरभक्ति नै ख्रीष्टियान जीवनको लक्ष्य हो । यसले ख्रीष्टियान जीवनको अनुभवलाई प्रगाढ बनाउँछ । र, प्रार्थनाले हाम्रा हृदयलाई सही ढाँचामा निर्माण गर्दै ख्रीष्टको आज्ञाकारितामा जोसिलो हुन प्रोत्साहित गर्छ ।
अवश्य, ज्ञान पनि महत्वपूर्ण छ किनकि ज्ञानविना परमेश्वर के चाहनुहुन्छ भन्ने कुरा हामी थाहा पाउन सक्दैनौँ । प्रार्थनामा परमेश्वरसँग समय नबिताउने हो भने हाम्रो ज्ञान र सत्यताले कुनै अर्थ राख्दैन । पवित्र आत्माले हामीलाई परमेश्वरको वचन सिकाउने, उत्साह दिने, गहिरा रहस्यहरू प्रकट गरिदिने, वचनलाई हाम्रो हृदयमा हालिदिने र परमेश्वरसँग प्रार्थनाद्वारा प्रतिक्रिया जनाउने कार्यमा मद्दत गर्नुहुन्छ ।
साधारण रूपमा भन्नुपर्दा, ख्रीष्टियान जीवनमा प्रार्थनाको स्थान अत्यन्त महत्वपूर्ण छ । प्रार्थना गर्दैमा कोही व्यक्ति ख्रीष्टियान हुन सक्दैन तर प्रार्थना नगर्ने ख्रीष्टियन भने हुदैन । रोमी ८ः१५ ले हामीलाई आत्मिक धर्मसन्तानको बारेमा बताउँछ, जसद्वारा हामी परमेश्वरको सन्तान भएका छौँ । यस कुराले हामीलाई आफ्नो मुख खोलेर परमेश्वर पितालाई “अव्वा ! पिता !” भनी बोलाउने योग्यको बनाउँछ । एक ख्रीष्टियानको लागि प्रार्थनाको महत्व भनेको बाँच्नको लागि सासको महत्व भएजस्तै हो । तर यसको मतलब हाम्रो ख्रीष्टियान जीवनको अन्य कर्तव्यहरूचाँहि कम महत्वका छन् भन्ने होइन ।
व्यक्तिगत प्रार्थनाको सन्दर्भमा भन्नुपर्दा कसैले पनि आफ्नो व्यक्तिगत प्रार्थना गलत उद्देश्यका निम्ति गर्दैनन् । झूटा अगमवक्ताले झैँ गलत अभिप्रायका साथ वचन प्रचार गर्नसक्छ, गलत उद्देश्य लिएर अनेकन कार्यहरूमा संलग्न हुनसक्छ, अन्य धेरै धार्मिक कार्यहरू पनि गर्नसक्छ तर गलत उद्देश्यकासाथ परमेश्वरसँग व्यक्तिगत रूपमा प्रार्थना गर्ने कुरा भने असम्भव छ ।
हामीलाई प्रार्थना गर्नका लागि आमन्त्रित गरिएको छ । अझ भन्नुपर्दा आज्ञा गरिएको छ । प्रार्थना, अवसर र कर्तव्य दुवै हो, र कुनै पनि कर्तव्य कठिन हुनसक्छ । ख्रीष्टियान जीवनको वृद्धिको लागि आवश्यक अन्य कुराहरूले झैँ प्रार्थनाले पनि मिहेनत र अनुशासनको माग गर्छ । एक अर्थमा, प्रार्थना हाम्रो लागि अस्वाभाविक कुरा हो । हामी परमेश्वरसँग सङ्गति र सञ्चार गर्नका लागी सृष्टि गरिएको भए तापनि पतनको परिणाम स्वरूप हामी प्रार्थना जस्तो महत्वपूर्ण कुराप्रति अल्छी र उदासीन भाव राख्छौँ । नयाँ जन्मले हाम्रा हृदयमा परमेश्वरसँग सङ्गति गर्नका लागि ऊर्जाशील इच्छालाई जगाउँछ तर हामीभित्र रहेको पापले सधैँ यस कुराको विरोध गरिनै रहन्छ ।
हामीलाई यही सत्यताले ढाडस दिन्छ कि परमेश्वरले हाम्रो हृदयलाई जान्नुहुन्छ र उहाँले हाम्रा ओठले उच्चारण गरेका शब्दलाई मात्र नभएर हृदयभित्र रहेका बिन्तीलाई पनि सुन्नुहुन्छ । जब हामी, हाम्रा गम्भीर भावनाहरू परमेश्वरमा जाहेर गर्न सकिरहेका हुँदैनौँ, वा कसरी प्रार्थना गर्ने भनेर अल्मलिरहेका हुन्छौं तब पवित्र आत्माले हाम्रो निम्ति मध्यस्थ गर्नुहुन्छ । रोमी ८ः२६–२७ ले भन्छ “त्यसैगरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौँ, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केराका पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ ।” कुनै अवस्थामा कसरी प्रार्थना गर्ने वा के प्रार्थना गर्ने भनी हामीलाई थाहा नहुँदा पवित्र आत्माले सहायता गर्नुहुन्छ । हामीले प्रार्थनामा गल्ति गरी पठाउँदा हाम्रा प्रार्थनाहरूलाई परमेश्वरकहाँ लानुअघि पवित्र आत्माले हाम्रा गल्तिहरूलाई सच्याई दिनुहुन्छ भन्ने यी शब्दहरूमाथि विश्वास गर्नको निम्ति पद २७ ले ठोस प्रमाण दिन्छ । “किनकि परमेश्वरको इच्छा अनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ” ।
प्रार्थना, पवित्रताको रहस्य हो । यदि पवित्रताको पछाडि कुनै रहस्य छ भने त्यो प्रार्थना नै हो । हामीले चर्च इतिहासका महान् सन्तहरूको जीवनीलाई विचार गर्यौँ भने, तिनीहरू प्रार्थनाका महान् योद्धाहरू थिए भन्ने कुरा थाहा पाउँछौँ । जोन वेस्लीले एकसमय भनेका थिए कि, “दिनमा कम्तिमा पनि ४ घण्टा प्रार्थनामा समय नबिताउने सेवकप्रति म खासै उच्च भाव राख्दिनँ ।” त्यसैगरी लुथरले भनेका छन्— उनी व्यस्त रहेका दिनहरूबाहेक प्रत्येक दिन एकघण्टा प्रार्थना गर्दथे र पछि उनले दैनिक दुईघण्टा प्रार्थना गर्न थाले ।
ख्रीष्टियान जीवनमा कुनै वृद्धि नभई सधैँ एकनासको भइरहनुको प्रमुख कारण भनेको प्रार्थनालाई अवहेलना गर्नु हो । लुका २२ः३९–६२ मा रहेको पत्रुसको उदाहरणलाई विचार गर्नुहोस् । येशू सदाझैँ जैतुन डाँडामा प्रार्थना गर्नको लागि जानुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर ।” तर चेलाहरू निदाए र जब तिनीहरू परीक्षामा परे तब पत्रुसले रोमी सिपाहीको कान तलवारले काटिदिए र पछि ख्रीष्टलाई इन्कार पनि गरे । पत्रुसले प्रार्थना गरेनन् र परिणाम स्वरूप परीक्षामा परे । पत्रुस जसरी परीक्षामा फसे हामी पनि त्यसरी नै फसिरहेका हुन्छौँ — हामी सार्वजनिक रूपमै पापमा फस्नुअघि व्यक्तिगत जीवनमा गुप्तमा फसिरहेका हुन्छौँ ।
के प्रार्थना गर्नको निम्ति ठिक र बेठिक समय छ ? यशैया ५०ः४ ले बिहानीको समय प्रार्थना गर्नको लागि ठिक समय हो भनी बताउँछ । तर अन्य पदहरूले मध्यान्हको समयलाई प्रार्थनाको निम्ति उचित समय भएको बताउँछ । कुनै पनि समय एक–अर्का भन्दा बढी पवित्र छैन । येशूले बिहान, दिउँसो र कहिलेकाहीँ रातभरि नै प्रार्थना गर्नुहुन्थ्यो । उहाँले प्रार्थनाको निम्ति समय छुट्याउनु भएको प्रशस्त उदाहरणहरू बाइबलमा छन् तर येशू र उहाँका पिताको सम्बन्धलाई विचार गर्ने हो भने हामी जान्दछौँ उहाँहरूबीचको सङ्गति कहिल्यै रोकिएन ।
१ थेसलोनिकी ५ः१७ ले हामीलाई निरन्तर प्रार्थना गर्न आज्ञा दिन्छ । यसको अर्थ यही हो कि हामी पितासँग निरन्तर सङ्गतिमा रहनुपर्छ ।
तसर्थ, प्रार्थना ख्रीष्टियान जीवनको महत्वपूर्ण र मुख्य केन्द्र हो । आउनुहोस् यस पुस्तिकामा महत्वपूर्ण तर उपेक्षा गरिएको र गलत अर्थ लगाइएको ख्रीष्टियान अनुशासनलाई अझ विस्तृत रूपमा हेरौँ ।
प्रार्थनाको स्थान
Topic: Articles